FAQs Complain Problems

प्रेस विज्ञप्ती - ९८ औं स्थापना दिवस

प्रेस विज्ञप्ती - ९८ औं स्थापना दिवस

प्रेश विज्ञप्‍ती

यस ललितपुर उप-महानगरपालिकाको ९८औं स्थापना दिवस आज मिति २०७३ पौष २ गते शनिबार बिभिन्‍न कार्यक्रमहरु संचालन गरी सम्पन्‍न भएको छ । बिहान ७:०० बजे करिब १५० भन्दा बढी सहभागीहरुले साईकल र्‍यालीमा भाग लिई डेढ घण्टाको साईकल यात्रा पुल्चोक - जावलाखेल - लगनखेल - टंगल - सुन्धारा – मंगलबजार - दरबार स्क्वार – क्वाल्खु - प्रभात स्कूल - पाटन ढोका - कृष्ण गल्ली हुँदै पुल्चोक नगरपालिका भवन रुटमा सम्पन्‍न भयो । उक्त साईकल र्‍यालीमा माननीयहरु, राजनैतिक दलका प्रतिनिधिहरु, जिल्ला प्रहरी प्रमुख, स्थानीय विकास मन्त्रालयका सहसचिव, ललितपुर उप-महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत, वरिष्‍ठ अधिकृतहरु लगायत कर्मचारीहरु र पत्रकारहरुको सक्रिय सहभागिता रहेको थियो ।

ललितपुर उपमहानगरपालिकाको प्राङ्गणमा आयोजित औपचारिक कार्यक्रम बिहान ११:३० बजे प्रमुख तथा कार्यकारी अधिकृत भरत मणी पाण्डेको अध्यक्षतामा प्रारम्भ भई बिभिन्‍न सूचना प्रविधि सम्बन्धी सेवा प्रवाहका विद्युतीय एप्लिकेशनहरुको औपचारिक समुद्‍घाटन प्रमुख अतिथि माननीय सांसद मदन बहादुर अमात्यज्यूबाट गरियो । जसमध्ये नक्सा पास प्रकृयामा विद्युतीय प्रणाली (Electronic Building Permit System – e-BPS) को प्रमुख अतिथिबाट उदघाटन गरी नमूनाको रुपमा नक्सा पासको प्रमाणपत्र तत्काल प्रिन्ट गरी वितरण गर्नुभयो । अब उपरान्त नक्सा पास प्रकृयामा विद्युती प्रणालीलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धता समेत प्रमुख तथा कार्यकारी अधिकृत भरत मणी पाण्डेज्यूले व्यक्त गर्नुभयो । उक्त e-BPS कार्यक्रमको लागि UNDP (CDRMP) बाट प्रविधिक सहयोग प्राप्त भएको हो । सो विद्युती प्रणालीको वेबसाइट – www.lsmcebps.gov.np रहेको छ ।

त्यसैगरी आजका मिति देखि "हाम्रो ललितपुर" नामक मोवाइल एपको आधिकारिक उद्‍घाटन समेत भयो । यस एप भित्र सफा ललितपुर, सुचना तथा समाचार, सार्वजनिक खरिद बोलपत्र सूचना, नागरिक बडापत्र, e-BPS, व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा भत्ता, कर तथा शुल्क, नगर प्रहरी र आकस्मिक सेवा सम्बन्धी खण्ड रहेका छन् । सम्बन्धित नगरवसीले आफ्नो सेवा सम्बन्धी गुनासोहरु पनि उक्त एपबाट गर्न सकिने व्यवस्था छ । यस एप निर्माणको लागि यूरोपियन यूनियन (फोहोरमैला ब्यवस्थापनमा अभ्यास सुधार परियोजना) को सहयोग रहेको छ । यस एपको उपयोग गर्न सम्पूर्ण नगरवासीहरुमा अनुरोध गरिन्छ ।

उल्लेखित विद्युतीय प्रणालीले समयानुकुल सूचना प्रविधिको उपयोग गरी सेवाग्राहिहरुले सुसूचित हुने, घरमै बसेर कामको अवस्था बुझ्‍न सकिने र गुनासो समेत गर्न मिल्ने व्यवस्थाले सेवा प्रवाहमा थप प्रभावकारिता बढ्ने विश्‍वास लिइएको छ ।

ललितपुर उप-महानगरपालिकाको ९८औं स्थापना दिवसको औपचारिक कार्यक्रममा निरन्तर २५ बर्ष सेवा गरेका कर्मचारीहरु र यसै बर्ष ५८ बर्ष उमेर हदबाट अनिवार्य अवकास भएका कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

आजको यस कार्यक्रममा उपस्थित भई साईकल र्‍यालीमा सहभागी हुने महानुभावहरु, औपचारिका कार्यक्रममा हाम्रो निमन्त्रणा स्वीकार गरी सहभागी हुनु भएका प्रमुख अतिथि लगायत अन्य अतिथिहरु एवं समपूर्ण उपस्थित महानुभावहरु, पत्रकारहरु र प्राविधिक सहयोग जुटाउने संघ संस्थाहरु र सम्पूर्ण कर्मचारीहरुलाई ललितपुर उप-महानगरपालिका हार्दिक धन्यवाद व्यक्त गर्दछ ।

 

रुद्र गौतम

वरिष्‍ठ ईन्जिनियर / प्रवक्ता

२०७३।९।२